प्रा.डा. सुरेन्द्र के.सी. को जन्म २०१२ सालमा मेची अञ्चलको ताप्लेजुङ, साबिक सावादिन ८ मा भएको हो । उहाँले गाउँको रविकला प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा प्राप्त गर्नुभयो भने मोती माध्यमिक विद्यालय, खोक्लिङबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गर्नुभयो । २०३५ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानबाट स्नातकोपाधि र २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरपाधि प्राप्त डा. के.सी. ले सोही विश्वविद्यालयबाट २०५३ सालमा विद्यावारिधि उपाधि हासिल गर्नुभयो । २०३७ सालदेखि भोजपुर बहुमुखी क्याम्पसबाट प्राध्यापन सेवाको थालनी गरी २०७४ सालमा सेवा निवृत्त हुनु भएका डा. के.सी. २०४३ सालमा डोटी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख नियुक्त हुनुभयो भने २०४५ सालमा सोही पदमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाममा स्थानान्तरण भई २०४७ सालसम्म कार्यरत रहनुभयो । त्यसपश्चात् उहाँ २०६५ सालमा इतिहास केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापक पदमा पदोन्नत हुनुभयो । लेखकका अनेकौं अनुसन्धानात्मक तथा विश्ले षणात्मक लेख रचनाहरू विभिन्न जर्नल तथा पत्रपत्रिकाहरूमा प्रकाशित छन् । विभिन्न राष्ट्रियस्तरका गोष्ठीहरूमा उहाँले गोर्खा भर्ती, आदिवासी जनजाति, आप्रवासी समस्या, सीमा समस्या र सन्धि विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ र तिनीहरू प्रकाशितसमेत छन् । विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भकारसमेत रहनुभएका लेखकको मूल विषय इतिहास भए तापनि समसामयिक राजनीतिक घटना विवेचनामाथि सूक्ष्माति सूक्ष्म विश्लेषण गर्नमा समेत स्थापित हुनुहुन्छ । विभिन्न पत्रपत्रिकाहरूमा उहाँका अनुसन्धानमूलक लेखहरू प्रकाशित भइरहेका छन् । उहाँका विभिन्न अनुसन्धानात्मक कृतिहरू तथा क्याम्पसस्तरीय पाठ्यपुस्तकहरूसमेत प्रकाशित हुनुका साथै केही प्रकाशोन्मुखसमेत रहेका छन् ।
Smriti Ra Anubhuti – Surendra KC
Reviews
There are no reviews yet