डीपी अधिकारी एक स्थापित वामपन्थी नेताका अतिरिक्त स्थापित लेखक समेत थिए । उनी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को मुखपत्र नवयुगका सम्पादक समेत रहे । तदनुरूप अनेक पत्र-पत्रिकामा पनि उनी नियमित लेख-रचना छपाउने गर्थे । प्रकारान्तरमा पुस्तक-पुस्तिकातर्फ मात्र उनले कम्तीमा साना-ठूला अठार पुस्तक लेखन गरेकामध्ये सोह्रवटा मदन पुस्तकालयमा संग्रहित रहेको पुष्टि भएको छ । दुर्भाग्यवश ! उनको प्रथम पुस्तिका आजको नेपाल र रायमाझीको अवसरवाद चाहिँ निकै प्रयास गर्दा पनि फेला पार्न सकिएन । अन्त्यमा बाध्य भई डीपीका उपलब्ध पुस्तक-पुस्तिकालाई चाहिँ हामीले दुई खण्डमा विभाजन गरी प्रकाशित गर्ने सोचाइको यो चाहिँ राजनीतिक खण्ड हो भने यसलाई डीपी अधिकारीका राजनीतिक रचना नामाकरण गरिएको छ ।
यस खण्डमा डीपीका जम्मा सातवटा कृति सङ्ग्रहित छन् । ती मध्ये एउटा अंग्रेजी भाषाको छ । वास्तवमा The History of Nepalese Nationlism नेपाली राष्ट्रियताको इतिहासकै अंग्रेजी रुपान्तरण हो । नेपालका कम्युनिष्ट आन्दोलनका आधारमा चाहिँ नेपाली कम्युनिष्ट आन्दोलनका विविध पाटा केलाउने प्रयास भएको छ । त्यसै गरी राष्ट्र र राष्ट्रियताको इतिहास अनि राष्ट्रिय राजनीति आजको अध्ययनमा मुलुक र यहाँ विकसित राजनीतिक घटना एवं प्रवृत्ति माथि चन्चू दृष्टि फाल्ने कार्य भएको छ । उता डीपी अधिकारीका पानी सम्बन्धी लेखहरूको सानो पुस्तिका पनि यसमा समावेस छ । लेखकले जलस्रोतको अपार धनी हाम्रो देशको उर्जा संभाव्यता र त्यसको आधार खुट्याउने प्रयास गरेका छन् । देशका त्यत्रा ठूला चिन्तक साथै स्रष्टाका यतिका मर्मस्पर्शी एवं चिन्तनमूलक बौद्धिक सामग्री पुन: प्रकाशन गरी आमजनसाधारणमा नयाँ वातावरण सृजना गराइएकोमा अधिकारी परिवार खासगरी डीपीकी धर्मपत्नी चन्द्रादेवी अधिकारीको गुणकारिताको प्रशंसा गर्दछु ।
DP Adhikarika Rajnitik Rachana – Surendra KC
Reviews
There are no reviews yet