धेरैजसो पढिसकिएका र केही पढ्न बाँकी भाव-संवेदनापूर्ण कविताहरू लिएर मेरा सहयात्री कवि हरि अधिकारी प्रस्तुत सङ्ग्रहमा देखिएका छन् । उनका कविताहरू मलाई जहिले पनि अर्थपूर्ण र घारिला लाग्ने गर्छन् । स्पष्ट छ, उनी यसमा सङ्ग्रहित धेरै कविताहरूमा त्यो संवेदना एवं विम्बका आविष्कारक एवं उच्चकोटीको शिल्पिका रूपमा उपस्थित भएका छन् । विभिन्न गाऊँ, शहर र बस्तीहरूका बृहत् / यात्रानुभव, जीवनका दुःख र विद्रुपपूर्ण स्थितिहरूसँग साक्षात्कार, केही उल्लेखनीय र स्तुत्य व्यक्तिहरूसँगको सहज सम्बन्ध, सीमान्त परिचयका प्रेम कविताहरू र दुस्सहः यथार्थ उनका कविताका परिचायक हुन् । उनी यस युगका स्पष्ट, निर्भीक र विश्वसनीय आधुनिक कवि र प्रखर आलोचक हुन् । – शैलेन्द्र साकार.
त्यसो त हरि अधिकारी नामभित्र अनेक व्यक्तित्वका अनुहार छन्-कवि, निवन्धकार, समीक्षक, खरो र निर्मम प्रश्न गर्ने विश्लेषक आदि । अनेक अनुहारबीच तर एउटा उज्यालो, परिचित र प्रिय अनुहार छ-प्रखर कविको जसको कवितामा हामी बाँचिरहेको समयको सटिक चित्र प्रतिबिम्बित हुन्छ । विषयको विविधता, आफ्नै किसिमको विम्बप्रयोग र जहाँ जता पुगे पनि मानिसका पक्षमा बोलिरहेको काव्यिक आवाजले पाठकलाई सोचमग्न र तरङ्गित बनाउँछ । उहाँका कतिपय कविता वाचाल छन्, कतिपय भने शान्त र फेरि विद्रोही पनि छन् । कविले कवितालाई थिचोमिचो नगरेर होला कलापूर्ण बोली बोल्ने यी कविताहरू एकपल्ट पढेपछि लामो समय स्मृतिमा बसिरहन्छन् । कहिलेकाहीँ लाग्छ-यति गहन कुरा पनि कति सरल र सहज तरिकाले भन्न सक्नुहुन्छ उहाँ । असली कवि हुनुको शक्ति यही हो सायद ! रमेश क्षितिज
–
प्रेम, प्रकृति, मानवीय सम्बन्ध, समाज र राजनीति जस्ता जटिल विषयहरूमाथि हरि अधिकारीले रचेका विष्मयकारी कविताहरूले उनलाई उत्कृष्ट कविको विशिष्ठ चिनारी दिलाएका छन् । उनका कविता सरल, छोटा र छरितो बान्कीका छन् । उनी फगत शब्दशिल्पी होइनन्, भावको गजुर उठाउने कवि पनि हुन् । उनका कवितालाई समसामयिक नेपाली चेतनाको प्रतिनिधि स्वर पनि भन्न सकिन्छ ।
हरि अधिकारीका कविताहरूमा पुरानो भएर पनि नित्य नवीन लागिरहने प्रसाद गुण छन् । यिनले कविता केही समयका लागि होइन, सधैँभरिका लागि हो भन्ने दृष्टान्त प्रस्तुत गर्दछन् । प्रस्तुत सङ्ग्रहमा परिपाक मिलेका सटीक, शानदार र शाश्वत कविता छन् । यी कवितामा आवश्यक कुरा जति पनि छन्, अनावश्यक कुरा केही पनि छैनन् । पाठकले हरेक कवितामा उत्कृष्ट रचनाले दिने रोमाञ्च पाउन सक्छन् । यो नेपाली कविताको समृद्ध परम्परालाई थप वैभव प्रदान गर्ने एउटा उत्कृष्ट सङ्ग्रह हो ।
Kabitasanga Panch Dashak – Hari Adhikari
Reviews
There are no reviews yet