कवि सिजन श्रेष्ठका कविताहरूमा जताततैबाट प्रकृतिले चियाएको भेटिन्छ । जताततै छताछुल्ल देखिन्छ प्रकृति । बाटो, जङ्गल, डाँडाकाँडा, खोला, पहाड, घाम, जून, आकाश, बादलको उपस्थिति उनका कविताहरूमा यत्रतत्र देख्न पाइन्छ । उनको प्रकृति तरोताजा छ र उनका कविताहरूमा त्यो त्यसरी नै बोल्छ ।
उनी कहिलेकाहीँ लोककथाका पात्रहरूलाई तरासेर कवितामा सजाउँछन् । उनले प्रस्तुत गरेका कथाहरू नेपालीपनका छन्। उनले टिपेका पात्र नेपाली महिलाहरू छन् । उनी ती पात्रहरूलाई नेपाली प्राकृतिक सौन्दर्यले सजाउँछन् । उनी कहिले हामीजस्तै बोल्ने मानिसहरूलाई हाम्रो अगाडि राखेर कविता बुन्छन् । उनको कवितामा उनकी प्रेमिका सबभन्दा बढी देखा पर्छिन् । उनको हजुरबा, उनको बाल्यकाल, उनको सिङ्गो मावली गाउँ कवितामा प्रस्तुत हुन्छन् ।
आफ्ना कवितामा उनी बालक बनिदिन्छन् । बालक बनेर मावल जान्छन् । मावल जाने बाटोका खोलाहरू महसुस गर्छन् । ती खोलाहरूले पुऱ्याउने बाधालाई चरा बनाई आकाशमा उडाउने चाहना र कल्पना गर्दछन् ।
उनी कल्पनामा उड्न खुब रमाउँछन् । उनका प्रायजसो कवितामा त्यसको प्रस्तुति व्यापक रूपमा देख्न पाइन्छ । मौका पायो कि उनी कल्पनाको उडानमा वेग भरिहाल्दछन् । उनको कल्पनाको उडानले मनमनै पाठकलाई मोहित बनाई सँगै यात्रा गराउँछन् ।
उनी आफ्ना कविताहरूमा अभिजात वर्गलाई होइन सर्वसाधारण मानिसहरूलाई प्रस्तुत गर्न मन पराउँछन् । आफूले राम्ररी चिनेजानेका, सङ्गत गरेका, हार्दिकता गाँसेकाहरूलाई नै उनी आफ्नो कवितामा स्थान दिन्छन् । यदाकदा ईश्वर र राक्षसको प्रस्तुति पनि देखाउँछन् ।
उनी शहरमा भन्दा गाउँमा नै बढी देखा पर्छन्। उनलाई गाउँबासी र गाउँको प्रकृतिमै बढी रमाएको देख्न पाइन्छ । उनका कविताहरूमा गाउँ, गाउँको प्रकृति, गाउँका मानिसहरू प्रखर रूपमा देख्न पाइन्छ ।
मानिसहरू एकअर्कालाई माया गर्छन् । गरिरहन मन गर्छन् । सधैँ सँगै बस्न पाइयोस्, कहिल्यै छुट्टिन नपरोस् भन्ने चाहन्छन् । तर जिन्दगी त्यस्तो हुँदैन। विभिन्न कारणले छुट्टिनुपर्ने पनि हुन सक्छ । यस्तो बेला छुटेको साथीले भनेका कुराहरू सम्झँदा जीवन अर्थपूर्ण हुन्छ। कवि सिजन श्रेष्ठ आफ्नो कवितामा आफ्ना प्रिय पाठकलाई यो कुरातिर औँल्याउँछन् ।
Hawama Aljhiyako Swar – Sijan Shrestha
Reviews
There are no reviews yet