लामै संघर्ष पछि कोठा पाएकोमा म निकै खुशी थिएँ । साँच्चै भनूँ भने त्यस दिन भुइँमा खुट्टै थिएन मेरो । कतिखेर होटल पुगँ र केशरीलाई लिएर फकूँ जस्तो लागिरहेको थियो । त्यसैले म त्यहाँबाट सिधै कोटेश्वर चोक पुगें र रत्नपार्कको बस चढें । सिट खाली थिएनन् । तैपनि मलाई दिक्क लागेन । यात्रु सबै गुनिलै लागे । डाइभर पनि आफ्नै दाइभाइ जस्तो । उसले बजाएको गीत पनि उस्तै बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा यो रगतमा मेरो पखेरीमा जन्मे, पाखुरीमा हुर्के म झुक्दै नझुक्ने नेपालको छोरो… साँच्चै, कति मिठो गीत ? बल्ल यो मेरै देश हो जस्तो लाग्दै थियो मलाई । तर आँखा वरिपरि भने त्यै कोठा फनफनी घुमिरहेको थियो जहाँ कहिल्यै नआएकी केशरी खाना पकाउँदै थिइन् । आफूसँग हुँदै नभएको स्टोभ भर्भराइरहेको थियो । सिकर्मीले बनाउँदै नबनाएको खाटमा ओछ्यान फिजाइएको थियो र म त्यो ओछ्यानमा उपरखुट्टी हालेर ढल्केको थिएँ। |
Birano Muluk – Bir Shinha Bishwokarma
Reviews
There are no reviews yet