Yayawar Paaila – Khemraj Pokhrel |
नियात्राकार खेमराज पोखरेल मेरा श्रीमान् हुनुहन्छ । साँच्चि भन्छु घुम्न पाएपछि हिँडिहाल्ने र घरव्यवहारको कुनै कुरा नसोच्ने नराम्रो बानी छ उहाँको । नियात्रासङ्ग्रहमा उनिएका पन्ध थान नियात्रामध्ये कतिपय ठाउँमा म पनि भौतिक रुपमै सँगै घुमेकी छु । अहिले पढ्दा आफू पनि सबै ठाउँमा पुगेको महसुस गरेकी छु । नसुतेर रातभरि कम्प्युटर चलाइरहनुहुन्छ । लेखिरहनुहुन्छ । लेखेर थन्क्याउनुभएको छ । फुटकर रचना पत्रिकामा छापिएर बसे पनि कृतिका रूपमा प्रकाशन गर्न गाहो हुँदो रहेछ । ‘ प्रकाशक , वितरक , पाठक सबै गन्जागोल छन् भन्नुहुन्छ । शान्त बस्न मन पराउने , एकान्त बस्न रूचाउने र सकभर झमेलामा नपरौं भन्नुहुन्छ । समाजसेवी स्वभाव छ । वानप्रस्थतिरको यात्रा हो भन्नुहुन्छ । सम्पत्ति भनेको हातको मैला हो , क्षणिक हो भन्नुहुन्छ । उहाँको व्यवहार पनि त्यस्तै डाडुड़े छ । खुला छ ।न आजको चिन्ता छ , न भोलिको फिक्री । जसले जे भने पनि मनमा आएका सबै कुरा लेखेर नै पोख्नुहुन्छ । कोरोनामा अमेरिकी सरकारले दिएको राहतले ‘ घरको गर्जो टारौं , भड्खालो पुरौं ‘ भन्छु म । तर उहाँ ‘ पुस्तक छापी न बूढी ‘ भन्नुहुन्छ । त्यसैले म प्रकाशक हुन पाएकी छु । यस्तो गर्वको दिन फेरि आउला कि नआउला थाहा छैन । अहिले भने सौभाग्यशाली अनुभूत गरेकी छु । |
Reviews
There are no reviews yet