कथा हरेक मान्छेसँग हुन्छन्। ती कथामा निजी अनुभवको बाहुल्य रहँदासम्म ती व्यक्तिगत हुन्छन् तर जब ती निजी कथामा सार्विक महत्त्वको कुनै अनुभव, दर्शन वा दृष्टि भेटिन्छ, त्यो कथा साझा बन्न पुग्छ । उमेरले सत्तरीको नेटो टेकिसकेका पूर्व शिक्षक लालबहादुर कार्कीको जीवनकथामा यस्ता सार्विक महत्त्वका अनेकन प्रसङ्गहरू छन् । भोजपुरको दुर्गम र अविकसित भेगको जिन्दगी, कमजोर आयस्रोत, ठूलो घरखर्च, खेती किसानीको भीमकाय बोझ, थुप्रै लालाबालाहरूको भविष्यको अभिभारा र आफ्ना निजी रहर र सपना हो । यिनै सजिला – अप्ठ्याराहरू बीचको सन्तुलनको दर्शन यस पुस्तकको मूल दर्शन हो । परिवारमा एउटा पुस्ताले सङ्घर्ष, त्याग र तपस्याको बलमा शिक्षाको र अग्रगमनको बत्ती बाल्ल सक्यो भने भावी पुस्ताले त्यसै बत्तीको उज्यालोमा विकास र प्राप्तिका नयाँ मुकाम कसरी प्राप्त गर्न सक्छ, यस पुस्तकले बताउँनेछ । करुणा, विडम्बना, भय, त्रास, अभाव र अनिश्चितताका बीच पनि अटल आत्मविश्वास र अजेय साहसले मान्छेलाई कसरी जिउने साहस दिन्छ, त्यसका अनेकन दृष्टान्त यहाँ छन् । आफ्ना सपना, सन्तानका सपनासँग साटिएपछि जन्मे हुर्केको भूगोल छोड्नु, अपरिचित सहरको कोलाहलमा आफ्नो हृदयको ध्वनि खोज्नु र सन्तानहरूको उपलब्धिमा आफ्नो स्थायी खुसी भेट्टाउनुको अर्थबोध यस पुस्तकको वास्तविक कर्मरेखा हो ।
Karmarekha – Lalbahadur Karki
Reviews
There are no reviews yet