मैले चिनेको मेरो ‘कान्छा’ नै समीर हो । समीर र मेरो प्रारब्ध भोजपुर पोखरे हो । । । घरको दूरी झण्डै ५० मिटर । हामी दुवै निर्दयी भगवान्का एकै प्रारूपका अप्रतिम कोपिला थियौं । जुन समय मानिसलाई मातृत्वको बढी आवश्यकता हुन्छ त्यही समय नै हामी दुवै मातृत्वविहीन थियौं तर पनि हाम्रो यो अभिशप्त परिवेशलाई हाम्रा पिताजीहरूका निश्चल एवं विमद टहल र दिदी तथा दाजुभाइहरूका प्रेरणादायी उद्गारहरूका कारण टुहुरोको महसुस हुन दिनु नै भएन । ठूला बा र मेरो पिताजीबाट हामी दुवैलाई प्राप्त भएको वात्सल्यका हाम्रा लागि चरम स्तुतिसमेत थिए । संयोग नै मान्नुपर्छ हामी दुवैलाई सबैले कान्छा भन्थे र थियौं पनि हामी कान्छा नै । उमेरले केही महिनाले मात्र मभन्दा जेठो थियो ‘कान्छा’ । ससाना बाल अनखटमा ऊ सदैव मेरो पक्षमा उभिने गर्दथ्यो । मानौं उसको अन्योन्य मित्रबाट कुनै गल्ती नै हुँदैन । त्यसैले पनि होला कहिलेकाहीँ ठूला बाले उसलाई खाजा खान दिनुभएको एकसुकाले हामी दुवै जना खाजासमेत खान्थ्यौं । समय-समयमा भिरबारीको जङ्गल, च्यापे दह, चुलिढुङ्गो, पोखरे स्कुल, ढोकले गैरो, बरबोट हाम्रो क्रीडास्थल बन्दथे । यिनै सेरोफेरोमा हामीले प्रकृतिलाई चिन्ने मौका पायौँ । गरिबी र अभावको मर्म भोग्यौं, मातृत्वविहीनताको व्यथा अनुभव गयौं र सायद त्यसैको आधारमा जीवन अगाडि बढाउन मनमनै सङ्कल्प पनि गयौं ।
।
जीवनको अर्को पाना पल्टन्छ, समयले पनि कोल्टे फेर्छ । ठूला बाको जागिर सरुवा हुन्छ कान्छा पनि मबाट टाढा हुन्छ । हाम्रो नियमित मित्रताको यात्रामा अल्पविराम लाग्छ । तर पनि पछिल्ला दिनहरूमा चाडबाड, उत्सवहरूमा औपचारिक-अनौपचारिक हाम्रो भेट भइ नै रहन्छ । समान पारिवारिक अवस्था हुँदाहुँदै पनि समीर र मेरो बानीव्यहोरामा विपरीतताको अवस्था थियो । म प्रशमन स्वभावको बालक ऊ निर्भीक, दृढ निश्चयी र परिवर्तनको संवाहक । समाजमा हुने अन्याय, अत्याचार, थिचोमिचो र असमानता उसका लागि सदैव अप्रसह्य । यिनै फरक चरित्रले हामीबीच केही समय शून्यता ल्यायो । करिब दश वर्ष जति त यो कान्छो विद्रोही समीरको रूपमा रहन पुग्यो । यो अवधिमा शायद म र मेरो व्यवहारप्रति पनि ऊ विश्वस्त रहेन । तर पनि हाम्रो भावात्मक सम्बन्धमा यसको कुनै असर परेको छैन भन्ने मलाई लागि नै रह्यो । मातृत्वविहीन मर्माहत अनुभव, समाजको हेराइ, गरिबी, विसङ्गति र विकृतिहरू जब जागिरको भोगाइमा उसले समीक्षा गर्न थाल्यो तब सन्तुलित समाजको प्रयासमा कान्छाभित्रको प्रतिरक्षात्मक समीर जागृत भयो । पछिल्ला भेटहरूमा न त उसले न त मैले नै हामीबीचमा देखिएको दश वर्षको अविश्वासका बारेमा प्रश्न सोध्ने साहस नै गयौं । समीर अब हिजोको कान्छाको रूपमा रहेन, ऊ सामाजिक अभियन्ताको रूपमा स्थापित भइसकेको छ । समीरको यो समाम्न्याय रचनाबाट समाजमा हाम्रो जस्तै विषम प्रकृतिबाट गुज्रिएका आम समुदायलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु । आज म अत्यन्तै हर्षित र त्यति नै गर्वित एवं भावविह्वल पनि छु किनकि मसँग दश वर्ष बिछोडिएको कान्छो आज समीरमा रूपान्तरित भएको पाएको छु । अब म उसको यो कृतिमा यही मेरो विस्मृतप्राय: प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछु ।
Barshaka Bihaniharu – Samir Nepal
Reviews
There are no reviews yet