यस पुस्तकभित्र…..
केही महिनाको अन्तरालमा दिवाकरमा परिवर्तन आयो। उसको संसार अरूको भन्दा अलग खालको छ । सानै उमेरदेखि नै ऊ यौनको मामलामा अनुभवी छ । उसलाई लाग्छ मनभित्र कुण्ठा पीडा र अवसादहरू प्रवेश गर्न नदिनका लागि इच्छित वस्तु प्राप्त गरी आनन्दित हुन सक्नुपर्छ । जीवन आरोह-अवरोह र उहापोहको सम्मिश्रण हो र यो सधैं सरल रेखामा मात्र विचरण गर्दैन । बक्र र उबड़-खाबड गतिमा पनि चल्ने गर्दछ । परिस्थितिको चक्रमा पिल्सिएको ऊ यो भनाइको खिलापमा छ। उसको मनले यो मान्दैन र जीवनलाई स्वइच्छित गतिमा चलाउने गर्दछ। जीवन आफूले चलाउने हो र यसको मानसिक योजनाकार ऊ आफै हो। मीठा शब्दहरू, मानसिक तथा शारीरिक सहजता, मिठास बोलीको लयमा पाउने रोमाञ्चकतामा ऊ रमाउने गर्दछ । यसको भरपूर प्रयोग उसको अधिकार हो । मानिसका मनमा अनगिन्ती चाहनाहरू हुन्छन् र यो समाजका मानिसहरू आफ्नो मनमा दमित रूपमा रहेको एउटा इच्छा पनि पूरा नगरी कुण्ठा र वितृष्णामा बाँचिरहेका छन् । आफ्नो अन्तरमनको भावनालाई मानिस स्वयम् आफै कुठाराघात गर्दै गइरहेका छन् । आफ्नो अन्तरमनको भित्री क्रन्दनलाई ऊ अक्षरशः पालन गर्न र उपभोग गर्न चाहन्छ । सुन्दर स्त्री प्रकृतिको देन हो र उसको मीठासपूर्ण बोलीमा ऊ आफूलाई न्यौछावर गर्छ र आत्ममुग्धतामा हराउँछ । यसरी बिताउने आत्मीय क्षणलाई नै जीवनको सार्थकता ठान्छ । उसको धारणा अलि बेग्लै छ । यसरी बिताएको मधुर क्षणले त्यो समय क्षणिक रूपको भए पनि सुखको भरपूर आनन्द मिल्छ । जीवनको ऊर्जाशील समय चिन्तारहित भई आनन्दसँग बिताउनु नै उसको अभीष्ट हो। शारीरिक असमर्थतापछिको जीवनलाई आध्यात्मिक चिन्तनको संसारमा एकालाप गरी बिताउने उसको लक्ष्य छ । सबैको आ-आफ्नै जीवनको गति छ र म पनि त्यसरी नै अन्तरमनको यात्रा गर्छु भन्ने उसको अठोट रहेको छ।
Bahra Sattari – Resham Bahadur Pandey
Reviews
There are no reviews yet