अन्तश्चेतना’ यात्रापरक भए पनि ज्ञानात्मक खोजको कृति हो । यसमा तिब्बती प्राकृतिक परिवेश एवं राज्यव्यवस्थाको मनोरम चित्रण छ । प्रकृति र दर्शनको अनौठो सङ्गम पाइन्छ बौद्ध दर्शनको सुन्दर सम्भाषण छ । जिज्ञासा र समाधानको आध्यात्मिक कोशका रूपमा यस कृतिलाई लिन सकिन्छ । गूढ ज्ञान र दर्शनको कृति भएकाले यसमा व्याख्या-विश्लेषण र चिन्तनको पनि आधिक्य छ । व्याख्या ज्ञानविषयक रहे पनि क्लिष्ट नभई सरल, सुन्दर, मनोरम र बोधगम्य छ । स्रष्टामा निहित नैबन्धिक चेतले वर्णनात्मक विधिलाई पनि प्रशस्त विस्तार गरेको छ ।
यसमा औपन्यासिक मनोरञ्जनमय स्वस्पभन्दा दार्शनिक चिन्तनले व्याप्ति पाएको छ । ल्हासाको आदर्श राज्यव्यवस्था र अनुशासित परिपाटीको सुन्दर चित्रण देखिन्छ । तिब्बती युवतीहरुको उत्साह र उदारताको अद्भुत बयान, कठोर नियम र अनुशासनमा हुर्किएका उनका वैयक्तिक स्वतन्त्रता र उन्मुक्त अवसरको चाहनाप्रति यथेष्ट सहानुभूति दर्शाइएको छ । तिब्बत सन्निकट मानसरोवरको रङ्गीन चित्रणले पनि आकर्षण थपेको छ । हिन्दू धर्म र दर्शन, संस्कार र संस्कृति, धार्मिक तीर्थस्थल, साधु-महात्माका दिनचर्या, सदाचार र शिष्टाचारका विषयमा उपन्यासभित्र चर्चा-परिचर्चा अधिक देखिएकाले स्रष्टामा सन्त स्वभाव निहित भएको अनुमान गर्न सकिन्छ ।
यो बौद्धिक र दार्शनिक प्रकृतिको उपन्यास भएकाले यसमा औपन्यासिक घटनाको तारतम्यभन्दा ज्ञानात्मक सामग्रीको जोरजाम बेसी पाउन सकिन्छ । स्वर्णरङ्गी कैलाशको मुक्तकण्ठले प्रशंसा गर्दै उपन्यासकारले त्यहाँका प्राकृतिक परिवेशको अद्भुत चित्रण गर्नभएको छ ।
Antashchetana – Astadev Khanal
Reviews
There are no reviews yet